Thaha

Sunday 22 September - 7:34 am NST

महाधिवेशनअघि असन्तुष्ट पक्षको माग पूरा गर्न  नसकिने फोरमको भनाई


काठमाडौं, २१ माघ । संघीय समाजवादी फोरम नेपालले, पार्टीका असन्तुष्ट पक्षको माग तत्काल पूरा गर्न नसकिने प्रष्ट पारेको छ । विधानमा समानुपातिक समावेशीको व्यवस्था स्पष्ट गर्दासमेत निहुँ खोज्न मात्रै माग राखेको आरोप लगाउँदै फोरमले महाधिवेशन अघि असन्तुष्ट समूहको माग पूरा गर्न नसक्ने बताएको हो । समाजवादी फोरमका उच्चनेताले पार्टीको पारित विधान नै नपढी असन्तुष्ट केन्द्रीय नेता रिजवान अन्सारी, वीरबहादुर लामा लगायतले विवाद सिर्जना गराएको आरोप लगाए । स्रोतले भन्यो, ‘नयाँ शक्तिमा जाने निहुँमा समानुपातिक समावेशीताको कुरा उठाएको हो, त्यसको अर्थ छैन । अहिल्यै पनि समाजवादी फोरम समानुपातिक समावेशी छ’ । असन्तुष्टले अन्सारीको नेतृत्वमा संघीय नवविचार समूह गठन गरेर पार्टीलाई आफूहरुको माग फागनु ७ गतेभित्र पूरा गर्न अल्टिमेटम दिइसकेका छन् । त्यसभित्र माग पूरा नभएमा फागुन ८ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएर पार्टी छोड्न सक्ने चेतावनी असन्तुष्ट समूहको छ । फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो फेसबुक पेसमार्पmत् समाजवादी फोरमको विधानको धारा ३६ (३)मा पार्टीका सबै समिति, निकायहरुमा कम्तिमा तेत्तीस प्रतिशत महिलासहित सामान्यतः सबै समुदायहरुको तोकिएबमोजिम समानुपातिक समावेशी हुने व्यवस्था गरिनेछ ।

प्रदेश र स्थानीय समितिमा स्थानीय विशेषताअनुरुप नै समानुपातिक समावेशी गरिने फोरमको विधानमा रहेको श्रेष्ठले उल्लेख गर्नुभएको छ । सहअध्यक्ष श्रेष्ठले आफ्नो पार्टी सबैमध्ये बढी समावेशी समानुपातिक रहेको दाबी गर्दै मुस्लिममात्रै केन्दीय समितिमा १७ जना रहेको जानकारी दिनुभयो । उहाँले आगामी ६ महिनासम्ममा पार्टीको महाधिवेशन गरिसकेपछि मात्रै पार्टीको संरचना स्पष्ट देखिने बताउनुभयो ।